८ असोज, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षासँगै बिहीबार राति करिब साढे १० बजेतिर माथिबाट ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प भएको हो।
भोटेकोसीको बाढीका कारण सडक भासिएपछि निर्माण गरिएको सडक डाइभर्सनको छेउमा पहिरोसहित ठूला ढुङ्गा खसेको स्थानीय सुदीप गौलीले जानकारी दिए।
‘ठूला–ठूला ढुङ्गा झरेका छन्। अहिले सवारी आवागमन गर्न सक्ने अवस्था छैन,’ गौलीले भने।
कृष्णभीर क्षेत्रमा पानी जमिनभित्र पस्न नदिन मंगलबार प्लास्टिक बिछ्याइएको भए पनि त्यसको छेउमै पहिरो खसेको हो।
स्थानीय प्रशासनले जोखिमलाई ध्यानमा राख्दै उक्त सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। रातिको समय र पहिरो थप खस्न सक्ने जोखिमका कारण तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको छैन। बिहान जोखिमको अवस्था मूल्याङ्कन गरेपछि सडक खुलाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।






