FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१० असोज, काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

बागमती प्रदेशमा धेरै सडक प्रभावित

ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका-३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका-६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-८ गिम्तिबेंसी र चारसय बेंसीमा पहिरो खसेको छ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ पकुचामा समेत पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिपी राजमार्गमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा-मझिमटार मोडमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मकवानपुरको कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका-८ बगुवाखोला नजिक तथा पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ ।

रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन् । नुवाकोटको टोखा-छहरे तथा पासाङ ल्हामु सडकखण्ड पनि प्रभावित भएका छन् । सिन्धुली र दोलखामा समेत रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ ।

कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध

ओखलढुङ्गाको सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमाना भँडारे खोला तथा सिद्धिचरण नगरपालिका–५ चित्रेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पाँचथरको तुम्बेवा गाउँपालिका-२ नांवाखोलामा तमोर करिडोर तथा याङवरक गाउँपालिका-२ दोभाने खोलामा मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।

भारी वर्षा तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरका विभिन्न सडकमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सवारी साधनलाई भने आवागमनको व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशमा पनि सडक आवागमन प्रभावित

मनाङको चामे–बेँसीसहर सडकखण्डअन्तर्गत नासो गाउँपालिका-३ खोत्रोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिका-४ कानाबगर तथा कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

पोखरा–बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिका-८ फर्से र लस्तीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ ।

लुम्बिनी र कर्णालीमा पनि यातायात प्रभावित

रोल्पाको मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा नगरपालिका–७ माडीचौर तथा घोराही–थवाङ–रुकुम सहिद मार्गअन्तर्गत माडी–३ गरगरेमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अर्घाखाँचीको गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ रिपामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

गुल्मीको मदन भण्डारी राजमार्ग, रुद्रबेँसी-वामीटक्सार सडकखण्ड तथा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरोका कारण यातायात प्रभावित भएको छ । दाङका राप्ती राजमार्ग, भालुवाङ-चकचके र सहिद मार्गमा समेत आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ मा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो खसेपछि राप्ती राजमार्गमा समेत सवारी आवागमन ठप्प भएको छ ।

जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह

लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । सम्भव भएसम्म जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न तथा रात्रिकालीन समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइरहेकाले सडक तथा राजमार्गको अवस्था जुनसुकै समयमा परिवर्तन हुन सक्ने भएकाले यात्रुले थप सावधानी अपनाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय