१८ कात्तिक, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो।
बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर शाखा विस्तार गरेको जनाएको छ। बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन्।
नयाँ शाखाबाट नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा उपलब्ध हुने बैंकले जनाएको छ। बैंकका अनुसार शाखा विस्तारले स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलताको विकास तथा सर्वसाधारणको वित्तीय पहुँच विस्तारमा सहयोग पुग्नेछ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।






