२० कात्तिक, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौँमा सञ्चालन हुनेछ।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि रोड रेस आयोजना गर्दै आएको छ। यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेट विधामा गरी करिब एक हजार पाँच सय धावक सहभागी हुने अपेक्षा गरिएको बैंकले जनाएको छ।
प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ। खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि पाँच किलोमिटर दौड हुनेछ।
कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बिमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर तथा पेमेन्ट सिस्टम अपरेटरमा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेतालाई समान पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ५० हजार, द्वितीयले ३५ हजार, तृतीयले २० हजार, चौथोले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, कर्पोरेटतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। दौड पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ। खुलातर्फको १० किलोमिटर दौड गरिमा विकास बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका–३ को कार्यालय परिसर पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै समापन हुनेछ।
कर्पोरेटतर्फको पाँच किलोमिटर दौड भने बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै समापन हुनेछ। प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत एक सय रुपैयाँ दर्ता शुल्क भुक्तानी गरी नाम दर्ता गराउन सक्नेछन्।
बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय तथा अनुशासित समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै इच्छुक धावकलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ।






