नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मच्चाउने र कानूनको बर्खिलाप गर्ने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले मुलुकमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको तथा राज्यका अंग र निकायहरू समेत कार्यकारिणीको नियन्त्रमा पुगेको टिप्पणी गरे। उनले सरकार कानूनी शासनको स्थापना गर्नुको सट्टा कानून र नियम मिच्ने कार्य गरिरहेको आरोप पनि लगाए।
राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमले सरकारमाथि प्रभावकारी निगरानी र आलोचना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
‘यस्तो पनि हुन्छ सरकार ? यस्तो पनि हुन्छ राज्य ? यस्तो पनि हुन्छ समाज रु समाज भाँड्ने, बिथोल्ने, समाजमा अराजकता मच्चाउने, समाजमा कानून उल्लंघन गर्ने, कानूनको बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले गरिराखेको छ’, उनले भने। उनले देश फासीवादतर्फ उन्मुख भइरहेको र जनतामा रुवाबासीको अवस्था रहेको टिप्पणी गरे।






