राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ ।
सहमतिअनुसार दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। पाँच प्रदेशमा सरकारको नेतृत्व बाँडफाँटसमेत टुंगिएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ।
मधेस र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति भएको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रदेश सरकार गठन र सञ्चालनमा सहकार्य गर्दै राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले यो सहमति गरिएको हो।
तीनबुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।







