कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्कने भएका छन् । स्वास्थ्य उपचारका लागि भन्दै २१ फागुनको निर्वाचनमा मतदानसमेत नगरी सिंगापुर गएका देउवा २६ साउनमा फर्किन लागेका हुन् ।
देउवा निकट कांग्रेस नेता प्रकाशशरण महतले देउवा २६ साउनको साँझ काठमाडौं आइपुग्ने बताए । ‘शेरबहादुर दाइ आउने कुरा मैले कन्फर्म गरेको हुँ । भाउजू र अरू कोको आउने भन्ने कुरा छ/छैन, थाहा भएन,’ उनले कान्तिपुरसँग भने ।
देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ । पार्टीका विभिन्न तहका निर्वाचित नेता, जनप्रतिनिधि, पूर्वपदाधिकारी, शुभेच्छुक तथा विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिसमेत भेलामा सहभागी हुने भएका छन् ।
भेला आयोजक पक्षले सार्वजनिक गरेको विवरणअनुसार भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, कांग्रेसबाट निर्वाचित वा नियुक्त भएका पूर्वमन्त्री तथा पूर्वसांसदलाई आमन्त्रण गरिएको छ।
देउवा १३ फागुनमा नेपालबाट आफ्ना प्रमुख स्वकीय सचिव भानु देउवासँग सिंगापुर गएका थिए । देउवा जानुअघि नै भारत गएकी उनकी पत्नी आरजु भने त्यतैबाट सिंगापुर पुगेकी थिइन्।
उपचारका लागि विदेशमै रहेका बेला देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संयुक्त रूपमा अनुसन्धान सुरु गरेको थियो । त्यसपछि नै देउवा दम्पतीको विदेश बसाइ लम्बिएको थियो । सरकारले २४ चैतमा देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी गरेको थियो । नेपालबाहिर रहेकाले नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत रेड कर्नर नोटिस जारी गर्न पत्राचार गरिएको थियो । तर, इन्टरपोलले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्कार गरेको थियो ।






