नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनको तयारी, सरकारको १०० दिने कार्यसम्पादन समीक्षा तथा समसामयिक राजनीतिक परिस्थितिसहितका विभिन्न एजेन्डा प्रस्तुत गर्नुभएको छ।
बैठकको मुख्य एजेन्डाका रूपमा आगामी १५औँ महाधिवेशनको तयारीबारे व्यापक छलफल गरी आवश्यक निर्णय गर्ने विषय राखिएको छ। महाधिवेशनका लागि आवश्यक नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने जनाइएको छ।
त्यस्तै, महाधिवेशन तयारी समिति गठन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिले यसअघि गरेका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको छ।
महामन्त्री पौडेलका अनुसार विभिन्न जिल्लाबाट प्राप्त प्रतिनिधिहरूको प्रतिवेदनमाथि समेत संक्षिप्त छलफल हुनेछ।
बैठकमा वर्तमान सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने उहाँले बताउनुभयो। जनसरोकारका विषयमा पार्टीको धारणा स्पष्ट पार्दै आगामी रणनीति तय गर्ने गरी बैठकले आवश्यक निर्णय लिने उहाँको भनाइ छ।
तराई–मधेसमा हालै भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयलाई समेत कांग्रेसले प्राथमिकतामा राखेको छ। ती घटनाक्रमको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा सामाजिक सद्भाव थप सुदृढ बनाउन पार्टीको तर्फबाट आवश्यक रणनीति तय गरिने जनाइएको छ।
साङ्गठनिकतर्फ क्रियाशील सदस्यता व्यवस्थापन, केन्द्रीय समितिका निर्णय, जनसम्पर्क समितिका समस्या तथा अन्य दलबाट कांग्रेसमा प्रवेश गरेका नेता–कार्यकर्ताको व्यवस्थापनका विषयमा पनि छलफल हुनेछ।
कांग्रेसका अनुसार हाल १३ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी देशमा अधिवेशन सम्पन्न गर्ने तथा नयाँ देशमा जनसम्पर्क समिति गठनका लागि स्वीकृति दिने प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिएको छ।
बैठकमा प्रदेश सरकारमा विकसित पछिल्लो राजनीतिक परिस्थिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान र तिनको स्वीकृतिलगायत समसामयिक राजनीतिक तथा साङ्गठनिक विषयमा समेत छलफल हुने जनाइएको छ।






