प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको छ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई कोप-३१ मा सहभागी हुन निमन्त्रणा पठाएका हुन्।
‘कोपमा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ सहसचिव ढकालले बैठकमा भने, ‘टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।’
परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले जानकारी दिए । यद्यपि, सम्मेलनमा नेपालबाट कुन तहको प्रतिनिधित्व हुने भन्ने टुंगो लागिनसकेको उनको भनाइ छ।
कोप-३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदै छ।






