३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरसमूहको राजधानीमा जारी राष्ट्रिय भेलाबाट ५ प्रतिवेदन पारित भएका छन् । भेलामा शनिबार प्रस्तुत भएका पाँच प्रतिवेदन पारित गरिएको हो । काठमाडौंको सुकेधारामा शुक्रबारदेखि भेला जारी छ ।
भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेश गरेका थिए । नेता एनपी साउदले समसामयिक नीति र विषयसम्बन्धी, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी र रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
यी प्रस्ताव परिमार्जनसहित पारित गरिएको हो । शनिबार प्रस्तुत प्रस्तावमाथि विभिन्न समूह विभाजन गरी छलफल गरिएको थियो । गत शुक्रबारबाट काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए ।






