७ भदौ, हेटौँडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
मुख्यमन्त्री थापाले सोमबार दिउँसो १ः ०० बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले एक पत्र जारी गर्दै कांग्रेसका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उक्त प्रक्रियाका लागि प्रदेशसभा बैठक समेत आह्वान गरिएको छ ।






