८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको रिटमा बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ । प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन आदेश दिएको हो ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंलाई घरबाहिर हिँड्डुल गर्न नदिनुको कारण २४ घण्टाभित्र पेश गर्न आदेशमा भनिएको छ । लिखित जवाफसँगै यही भदौ ४ गते गरिएको घर खानतलासीमा बरामद सामग्री पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा आदेश जारी गरिएको छ ।
आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटोको म्यादबाहेक २४ (चौबिस) घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू, सर्वोच्चको आदेशमा भनिएको छ ।
साथै, निवेदनसाथ संलग्न मिति २०८३ ।०५।०४ को खानतलासी पूर्जीमोजिम निवेदक दुर्गा प्रसाईंको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामान समेत पेसीको दिन लिई आउनू भनी विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउनू, भनिएको छ ।
यही भदौ ५ गते प्रसाईंकी पत्नी उमा प्रसाईंले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा घरमा खानतलासी गरिएको विषयमा समेत प्रश्न उठाइएको छ । उक्त रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।








