राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ । पार्टीबाट निष्कासित जिल्ला सभापति चन्दन स्वर्णकारका समर्थकहरूले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन् ।
स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विरोधमा समर्थकहरूले सांसदहरूविरुद्ध नाराबाजी गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए । त्यसपछि प्रहरीले सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो ।
करणराज होटलमा भइरहेको कार्यक्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । निष्कासित स्वर्णकारले भने आफू निकट कार्यकर्तालाई बेवास्ता गर्दै जिल्ला समिति गठन गर्न खोजिएपछि विरोध भएको बताएका छन् ।
यसैबीच रास्वपा स्थानीय कार्यकर्ताले विरोध जनाएका छन्। रास्वपा सिम्रौनगढका पूर्वनगर सभापति साहेब अन्सारीले आफूमाथि हातपात भएको जनाएका छन्।
पदाधिकारीबाहेकमा मान्छेलाई बाहिर निकाल्न खोज्दा उल्टै आफूमाथि हातपात भएको उनको भनाइ छ। यसमा सांसदहरूले नै भूमिका खेलेकाले यस्तो अवस्था आएको उनले बताएका छन्।







