७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।
सोमबार बिहान प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकुडीले गार्ड अफ अनर प्रदान गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि समारोहमा साथमै थिए । प्रधानमन्त्री बालेन आइतबार नयाँ दिल्ली पुगेका हुन् । उनी नयाँ दिल्ली प्रस्थान गर्दा विगतको परम्परा तोड्दै काठमाडौंमा गार्ड अफ अनर नलिई आएका थिए ।
प्रधानमन्त्री बालेनले नेपाली समयानुसार सोमबार बिहान ११ः१५ बजे भारतका मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसलगत्तै बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।








