७ मंसिर, काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीच आठ विषयमा समझदारी भएको हो ।
विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, भूउपग्रह सञ्चार र सहरी विकासलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।
समझदारीपत्रमध्ये एउटा गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि समझदारी भएको छ ।
नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि समझदारी भएको छ । यसमा भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान सहभागी छन् ।
अन्य समझदारी आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा रहेका छन् ।
नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा पनि सम्झौता भएको छ ।
यस्ता छन् समझदारीमा हस्ताक्षर भएका आठ विषय
१. फरेन्सिक विज्ञानमा सहकार्य: गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ ।
२. प्रहरी प्रशिक्षण: भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ ।
३. प्रशासनिक अधिकारीहरूको तालिम: भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन् ।
४. आयुर्वेद र परम्परागत चिकित्सा: दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन् ।
५. स्याटेलाइट सञ्चार: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ ।
६. सहरी विकास: दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन् ।
७. स्वास्थ्य र चिकित्सा: भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन् ।
८. पशुपालन र मत्स्यपालन: दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन् ।
यसैगरी प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रूपमा पाँच आयोजनाको शिलान्यास गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट दुई प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यममार्फत ती प्रोजेक्टको शिलन्यास गरेका हुन् ।
शिलन्यास गरिएका प्रोजेक्टमा दार्चुला र धार्चुला जोड्ने महाकाली नदीको पुल, बनबासामा एकीकृत चेक पोस्ट (आईसीपी), मोतिहारी–अमलेखगन्ज पेट्रोलियमा पाइपलाइनको फोज टु, झापामा ग्रीन फिल्ड अल स्टोरेज टर्मिनल र ६६९ मेगावटाको तल्लो अरुण जलविद्युत् आयोजना छन् ।
प्रधानमन्त्री बालेन र मोदीको नेतृत्वमा बसेको नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठकपछि प्रोजेक्टको शिलान्यास गरिएको हो ।








