८ असार, काठमाडौं । गरिमा विकास बैंक लिमिटेड विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते काठमाडौंस्थित होटल र्याडिसनमा आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६’ को १८औं संस्करणमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बैंकले अवार्ड प्राप्तिपछि ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ। बैंकका अनुसार प्राप्त सम्मानले संस्थालाई अझ गुणस्तरीय, सुरक्षित तथा ग्राहकमैत्री सेवा प्रदान गर्न थप प्रेरणा मिल्नेछ।
यसअघि पनि गरिमा विकास बैंकले न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित ‘न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवाईस २०२६’ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ अवार्ड प्राप्त गरेको थियो।
हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।






