FLASH NEWS
सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर । नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक । २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता, शुक्रबारदेखि प्रदर्शनमा आउने । कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक । आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने । नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते । नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी ।

१० मङ्सिर, म्याग्दी । चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ (प्रत्यक्ष) प्रस्तुति दिएको छ ।

गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका थिए । साँझ ६ः०० देखि रातो टिसर्ट र जिन्सको ज्याकेटमा स्टेज उक्लिएका अमृतलाई दर्शकले हुटिङसहित स्वागत गरे ।

‘आगनैभरि’ गीतबाट प्रस्तुति सुरु गरेका गुरुङको स्वरसँगै दर्शकहरुले पनि स्वरमा स्वर मिलाए । लगातार तीनवटा गीत गाएपछि दर्शकलाई अभिवादन गर्दै गुरुङले ३० वर्षअघि जोमसोममा गीतको छायाङ्कन गरेर बेनी हँुदै हिँडेर पोखरा पुगेको स्मरण गरेका थिए ।

मङ्सिरको पहिलो साता धान काटेर दाइँ हाल्ने, गहुँलगायत हिउँदेबाली लगाउने समयको प्रसङ्ग निकाल्दै उनले धौलागिरि काखमा जन्मिएर, मानव सभ्यतासँग जोडिएको कालीगण्डकीको तिरैतिर हिँडेका पुर्खाहरुको शिरफुले भाकाको खोजीमा बेनीदेखि हिँडेर रुकुम पुगेको स्मरण गर्दै धौलागिरि बोलको गीत प्रस्तुत गरेका थिए ।

‘भेडाको ऊनजस्तो’, ‘रामारामा, ‘खान्न म त लामपाते सुरती’, ‘चरी म¥यो सिसैको गोलीले माया बस्यो त्यो मीठो बोलीले’ र ‘जोमसोमे बजारमा १२ बजे हावा सरर’ लगायतका गीत प्रस्तुत गर्नुभयो । गीत गाउँदै आफैँ छमछमी नाचेका अमृतलाई खुल्लामञ्चमा भरिभराउ दर्शकले स्वर र हुटिङमार्फत साथ दिए ।

‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’, ‘म नाचेँ छमछमी’ जस्ता गीतले पनि बेनीको माहोल ततायो । गीतबीच अमृतले नेपालको प्राकृतिक सौन्दर्यताको वर्णन, सद्भाव, सामाजिक एकताको अपिल र पुर्खाको योगदानको सम्मान गर्न अपिल गरे ।

मानिस यो धरतीमा केही वर्षका लागि मात्रै पाहुना बनेर आएको उल्लेख गर्दै उहाँले पैसाको पछि नडौदिन र मानव कल्याणमा सहयोग गर्न आग्रह गरे । समाजमा असहाय र अशक्त मानिस कठिन अवस्थामा बाँचिरहेको भन्दै उहाँले मानव कल्याणभन्दा ठूलो धर्म अरू नहुने बताए ।

अन्तिमतिर अमृतले देश निर्माणका लागि सबै एकजुट हुन आह्वान गर्दै ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ प्रस्तुत गरे । त्यसपछि ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ गाउँदा दर्शकको उत्साह थप चुलियो ।

राजनीतिकर्मीहरुलाई मनपरी नगर्न खबरदारी गर्दै गुरुङले कर्मचारीलाई विचलित नभई निर्धक्क भएर न्यायको राज्य सञ्चालनको अनुरोध गरे । अभावका बीच पनि पुर्खाले देश जोगाउन गरेको योगदान स्मरण गर्दै उनले विभिन्न जातजाति, धर्म र समुदाय मिलेर बस्नुपर्ने सन्देश दिए ।

गाउँका घरहरु खाली, खेतीयोग्य जमिन बाँझिने क्रम बढेका प्रति चिन्ता व्यक्त गर्दै पर्वतको बाँसखर्कमा बजार र बिदेशबाट फर्किएर सुन्तला फलाउने किसानको प्रशंसा गरे । करिब दुई घण्टा चलेको प्रस्तुतिमा अमृतलाई ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्तिबहादुर रायमाझी, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिएका थियो ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा दुई घण्टासम्म सञ्चालन भएको साङ्गीतिक कार्यक्रममा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट पनि दर्शक आएको स्थानीय आयोजक सोभन इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठले बताई । बेनीमा १५ वर्षपछि नेपथ्यको साङ्गीतिक प्रस्तुति भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय