१९ असार, काठमाडौं । पोर्चुगल विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।
क्यानाडाको बीएमओ फिल्डमा मध्यान्तरसम्म गोलरहित बराबरी भएको खेलमा मध्यान्तरपछि क्रोएसियाले गोलको खाता खोलेको थियो ।
५३ औँ मिनेटमा इभाँ पेरिसिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । ६८ औँ मिनेटमा पोर्चुगलले बराबरी गर्यो ।
पेनाल्टीलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गरे । रोनाल्डोको यो विश्वकपको ११औँ गोल हो ।
निर्धारित ९० मिनेटको खेल बराबरीतर्फ अगाडि बढिरहेका बेलामा इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गोल गर्दै पोर्चुगललाई जिताए ।
इन्जुरी समयको १३ औँ मिनेटमा क्रोएसियाका यास्को जीभाडिओलले गोल गरेका भए पनि भीएआरले उक्त गोललाई मान्यता नदिएसँगै क्रोएसिया सनसनीपूर्ण बराबरी गर्ने अवसरबाट वञ्चित भएको थियो ।
यो खेलको अन्तिम इन्जुरी समय १७ मिनेटसम्म पुगेको थियो ।
पोर्चुगलले समूह चरणमा नवप्रवेशी टिम उज्बेकिस्तानलाई ५–० ले हराएको थियो भने कोलम्बियासँग गोलरहित तथा चेक गणतन्त्रसँग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह चरणमा क्रोएसियाले घानालाई २–१ ले तथा पानामालाई १–० ले हराउँदा इङ्गल्याण्डसँग भने ४–२ ले पराजित भएको थियो ।






