नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो।
श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। पार्टी कार्यालयमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उपस्थित भएर श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
त्यसपछि श्रेष्ठको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिएको हो।
नेपाली कांग्रेसले लामो समय पार्टी राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले पार्टी र नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।
श्रेष्ठ नेपाली कांग्रेसका पुराना नेता तथा विभिन्न समयमा सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालेका व्यक्ति थिए। उनले पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा लामो समय योगदान दिएका थिए।








