७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ स्वदेश प्रस्थान गरेका छन्। उनी नेपाल वायुसेवाको नियमित उडानमार्फत इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका हुन् ।
प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरेका थिए। बिदाइका क्रममा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नेपाली दूतावासका वरिष्ठ अधिकारी उपस्थित थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए।
भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनलगायत क्षेत्रमा सहकार्य गर्ने विषयमा आठवटा समझदारी भएका थिए।








