१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले अनुसन्धान कानुनअनुसार हुनुपर्ने र कसैले गल्ती गरेको भए राजनीतिक आबद्धताका आधारमा छुट पाउन नहुने बताएका हुन् ।
उनले नेपाली कांग्रेसमा आबद्ध भएकै कारण कसैले राज्यबाट अतिरिक्त सुविधा पाउन नहुने र कांग्रेसमा आबद्ध भएकै कारण राज्यको दुराग्रह, अत्याचार तथा पूर्वाग्रहको सिकार पनि हुन नहुने स्पष्ट पारे । यही सिद्धान्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको हकमा पनि लागू हुने उनको भनाइ छ ।
थापाले सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कांग्रेसले कसैलाई अपराधी करार नगर्ने उल्लेख गर्दै अपराधी हो वा होइन भन्ने निर्णय गर्ने जिम्मेवारी राज्यका अनुसन्धान निकाय र न्यायिक प्रक्रियाको भएको बताए । तर प्रधानमन्त्री, रास्वपा सभापति वा सरकारसँग निकट रहेकै आधारमा कसैले उन्मुक्ति पाउन नहुने उनको धारणा छ ।
उनले कांग्रेसको सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी भएको उल्लेख गर्दै बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको पार्टीका सदस्यले आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवन पारदर्शी राख्नुपर्ने बताए । आफू र पार्टीका सबै सदस्य अनुसन्धानका लागि तयार रहेको भन्दै उनले कानुनअनुसार हुने अनुसन्धानमा सहयोग गर्ने तर गलत र अन्यायपूर्ण व्यवहारको प्रतिवाद गर्ने बताए ।
सभापति थापाले कांग्रेसका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रह राखिएको अवस्थामा पार्टी उनीहरूको पक्षमा उभिने पनि स्पष्ट पारे । पार्टी सभापतिकै कारण कुनै पनि सदस्यले शिर निहुराउनुपर्ने अवस्था आउन नदिने आफ्नो जिम्मेवारी रहेको उनको भनाइ थियो ।
त्यस्तै, उनले सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी राख्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । सुकुम्बासी समस्या, प्राकृतिक विपत्तिमा परेका नागरिकको अवस्था, सहकारीपीडितको रकम फिर्ता गर्ने प्रतिबद्धता तथा सरकारले घोषणा गरेका कार्यक्रमको कार्यान्वयनबारे जनतामाझ गएर प्रश्न उठाउनुपर्ने उनले बताए ।
सरकारले सयौँ प्रतिबद्धता र घोषणा गरे पनि तिनको कार्यान्वयन भए–नभएको विषयमा प्रतिपक्षी दलका रूपमा कांग्रेसले जनतालाई जानकारी गराउनुपर्ने उनले बताए । प्रधानमन्त्री कार्यालयको दुरुपयोगलगायत विभिन्न प्रकरणबारे पार्टीका नेता तथा कार्यकर्ताले अध्ययन, विश्लेषण र जानकारी लिएर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
थापाले स्थानीय तहमा कांग्रेसको भूमिका र जिम्मेवारीबारे पनि स्पष्ट पारे । कांग्रेसले नेतृत्व गरेका ७५३ वटै स्थानीय तहमा पार्टीका प्रतिनिधिले सरकारको कार्यसम्पादन, उपलब्धि र घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताको अवस्थाबारे समीक्षा गर्नुपर्ने उनले बताए ।
कांग्रेस नेतृत्वमा रहेका स्थानीय तहमा सरकार र पार्टीबीच देखिएको दूरी कम गर्ने तथा कार्यकालको अन्तिम चरणमा घोषणापत्रका प्रतिबद्धता पूरा गर्न थप प्रयास गर्नुपर्ने उनले बताए ।
त्यस्तै, कांग्रेस प्रतिपक्षमा रहेका स्थानीय तहमा जनहितकारी काममा रचनात्मक सहयोग गर्नुपर्ने उनले बताए । चुनावमा पराजित भएकै कारण स्थानीय सरकारले गर्ने राम्रा काममा अवरोध सिर्जना गर्न नहुने उल्लेख गर्दै थापाले आफूले जितेको स्थानीय तहमा विपक्षी दलसँग राख्ने अपेक्षाअनुसार नै अन्य स्थानीय तहमा पनि कांग्रेसले व्यवहार गर्नुपर्ने बताए ।
यसैगरी, सभापति थापाले पार्टी पुनर्जागरणका लागि संगठनात्मक संरचनामा परिवर्तन आवश्यक रहेको बताए । पार्टीको सन्देश जनतासम्म पु¥याउने माध्यम संगठन भएकाले संगठनलाई समयअनुसार बदल्नुपर्ने उनले बताए ।








