१३ मङ्सिर, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१ बागवानी केन्द्र नजिक पूर्व-पश्चिम राजमार्गमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी एक जनाको मोटरसाइकल लुटेर फरार भएका छन् ।
हिजो शनिवार साँझ करिब ७:५० बजे हरिवनबाट लालबन्दीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०२८ प ७४०४ नम्बरको निलो रङको यामाहा सलुटो १२५ सीसी मोटरसाइकलमा सवार महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका-७ बस्दै आएका अन्दाजी ३७ वर्षीय सुजित कुमार सिंहमाथि अपरिचित दुई जनाले धारिलो हतियार प्रहार गरेका हुन् ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सिंहमाथि धारिलो हतियार प्रहार गरी उनी सवार मोटरसाइकलसमेत लिएर फरार भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
सिंह हरिवन बजार क्षेत्रमा पसलको पैसा उठाइ घरतर्फ फर्कनेक्रममा आक्रमण भएको बुझिएको छ । उनले उठाएर पसलतर्फ ल्याउँदै गरेको पैसा भने लुटिए÷नलुटिएको प्रष्ट भइसकेको छैन् ।
घटनास्थलमा गोली चलेको भनिए पनि पुष्टी भइसकेको छैन् । सर्लाही प्रहरीका प्रवक्ता गौतमले घटनामा धारिलो हतियार प्रहार भए पनि गोली चलेको पुष्टी हुन बाँकी रहेको बताए ।
घाइते सिंहको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र पेटमा चोट लागेको तथा अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा लुटिएको मोटरसाइकल बरामद गर्न प्रहरीले खोजीकार्य र थप अनुसन्धान अघि बढाएको छ ।








