३० भदौ, काठमाडौं । मंगलबारको कारोबारमा शेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले बढेर ४६७.४५ विन्दुमा पुगेको छ ।
बजारमा सरकारले ल्याएको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको प्रभाव परेको हो । कारोबार भएको कित्ता संख्या पनि दोब्बरले बढेको छ । यसअघि १ करोड कित्ता हाराहारीमा किनबेच हुने गरेकामा मंगलबार २ करोड बढी कित्ता कारोबार भएको छ ।
नेप्सेको आजको अंक भदौ १ यताकै उच्च हो । अघिल्लो दिन पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक भएको थियो । जसले गर्दा बुधबार कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिल्यो ।
कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि सम्हालिँदै १२ः ५४ बजे २६११ अंकमा आएको थियो । आज ८ अर्ब २९ करोडको कारोबार भयो । जबकि अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम असार ३० यताकै उच्च हो ।
सबै समूहगत सूचक बढेका छन् । बैंकिङ १.९०, विकास बैंक १.७६, फाइनान्स २.२३, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स १.७५, निर्जीवन बीमा २.८२, अन्य २.१२ र व्यापार ०.९२ प्रतिशत बढे ।
आज २६५ कम्पनीको मूल्य बढ्दा १२ को घटेको छ भने एउटाको स्थिर रह्यो । धौलागिरि लघुवित्तको १४.९६, सिन्धु विकास बैंकको ११.०३, मल्टिपर्पस फाइनान्सको ९.७३, जानाकी फाइनान्सको ८.०६, मिडसोलु हाइड्रोपावरको ६.६७ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै बोटलर्स नेपाल बालाजुको २.९७, रिलायन्स स्पिनिङ मिल्सको १.९४, सर्वोत्तम पेन्टसको १.६६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंक अगाडि रहे ।
मंगलबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको दुई हजार ८७९ रूपैयाँमा ३२ करोड ७० लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.९४ प्रतिशत घटेको हो ।
सर्वाधिक शेयर खरिद-बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको ६८१ रूपैयाँमा ३१ करोड ५६ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नप्से बढेको हो । निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशतले बढेको छ ।






