ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलामाथि अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका एक शिक्षा अधिकृत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुर बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले भट्टलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त सातदोबाटोका अनुसार उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घटनाको थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।






