पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
‘वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्डखण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ, विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक उपकरण तम्तयारी अवस्थामा राखिएको छ,’ कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।






