काठमाडौँ, असार २७ गते । नेपालले मलेसियामा सुरु भएको एसिसी महिला यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।
मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कतारलाई एक सय पाँच रनले हरायो । जितका लागि नेपालले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमा सबै विकेटको क्षतिमा २५ रनमा समेटिएको थियो ।
कतारका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कतारलाई कमजोर बनाउन बलिङमा नेपालका रिया शर्मा र रचना चौधरीले तीन तीन तथा मनिषा उपाध्यायले दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्ष्ाितमा एक सय ३० रन बनाएको थियो । नेपालका लागि ओपनर सावित्री धामीले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
साना प्रविनले २७ र अन्जि पाठकले अविजित २३ रन बनाउनुभयो । नेपालले समूहको दोस्रो खेल असार २८ गते सिङ्गापुरसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित सहित १३ देशको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा थाइल्यान्ड, म्यान्मार र जापान रहेको छ । समूह ‘बी’ मा युएई, ओमान र भुटान रहेको छ । समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया र कुवेत तथा समूह ‘डी’ मा हङकङ, सिङ्गापुर र कतार रहेको छ ।
समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । त्यसबाट चार टोली सेमिफाइनल र दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल साउन २ गते हुनेछ ।






