पोखरा, असार २९गते । कास्कीको अन्नपूर्ण गाउँपालिकामा गएराती परेको अविरल वर्षाका कारण सडक अवरुद्ध सडक आज दिउँसो चार बजेबाट एकतर्फी खुलेको छ ।
सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकतर्फ जाने दर्जनौँ सवारी साधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका थिए । अन्नपूर्ण गाउँपालिका वडा नं ११ किमरुङ खोलामा आएको बाढी मोदीखोलामा मिसिएर ठुलो रुप लिएपछि नयाँपुल घान्द्रुक सडक खण्ड कटान गरेको थियो ।
सो कटान क्षेत्रलाई तत्कालै डोजर र स्काभेटर लागाई बाटो खुलाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो । उक्त बाटो खुलाउन अपर मोदी हाइड्रोपावरले पनि सहयोग गरेको उहाँले बताउनुभयो ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीका अनुसार आइतबार राति आएको वर्षाका कारण अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा सडक अवरुद्ध हुनाका साथै बाढीलेले स्याउली बजारका दिलिप गुरुङको रेस्टुरेन्ट बगाएको छ ।
त्यसैगरी जगन पुनको घर समेत जोखिममा परेपछि सुरक्षा निकाय र स्थानीयको सहयोगमा घरका सामग्री सारिएको जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध घान्द्रुकतर्फ जाँदै गरेका ३ वटा बस, १३ वटा जिप, ७ वटा मोटरसाइकल र ४ वटा ट्याक्सी गरी कूल २७ वटा सवारी साधनहरू बाटोमै रोकिएका थिए । बाटो एकतर्फी खुलेपछि यात्रुहरुलाई सहज भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
त्यसैगरी अप्पर मोदी हाइड्रोपावरमा लेदो पसेर ड्याम र हाइड्रोपावरको सुरुङ (टनेल) भित्र क्षति पुगेको प्रहरी जनाएको छ । हाइड्रोपावरको ड्याम (बाँध) तथा ड्याम मर्मतका लागि राखिएका महत्वपूर्ण उपकरणहरूमा क्षति पुगेको छ ।
यसैबिच समग्र क्षतिको विवरण संकलन गरी प्रभावितलाई राहात र सडक मर्मत कार्य गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिङ गुरुङले बताउनुभयो ।
उहाँको नेतृत्वमा जिल्ला विपत व्यवस्थापनको टोली घटनास्थलमा पुगी जानकारी लिएको छ । बाढी प्रभावित क्षेत्र पुग्न पोखरादेखि करिब ६० किलोमिटर उत्तर–पश्चिम क्षेत्रमा पर्दछ।






