८ भदौ, काठमाडौं । सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार १९.१३ अंकले घटेर नेप्से २५९९.५८ अंकमा बन्द भएको छ । आज अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से १९.१३ अंक घटेर शेयर बजार २६ सय मुनि झरेको छ कुल ३५० वटा कम्पनीको ८५ लाख ७२ हजार कित्ता शेयर ३ अर्ब २३ करोडमा किनबेच भयो । जसमा ४७ वटाको बढ्दा २२९ वटाको मूल्य घटेको छ ।
सबै समूहगत सूचक झरेका छन् । जलविद्युत् सबैभन्दा धेरै १.१९ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा १.१२ प्रतिशत घट्यो । अरू समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार ०.५० प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ६८ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३० करोड, उत्पादन तथा प्रशोधन ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै धौलागिरि लघुवित्तको ११.९८, सीवाईसी लघुवित्तको ९.१४, सयपत्री हाइड्रोपावरको ६.२७, हाथवे इन्भेस्टमेन्टको ३.३३, खानीखोला हाइड्रोपावरको ३.३३ प्रतिशत मूल्य बढ्यो ।
पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ९.८३, विन नेपाल लघुवित्तको ८.६७ तथा माउन्ट एभरेस्ट पावरको ७.७६ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सल डेभलपमेन्ट बैंक, सानिमा मिडिल तमोर छन् ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको दुई हजार ७२८ रूपैयाँमा १२ करोड ७२ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.६९ प्रतिशत घटेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोलु हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको ६७८ रूपैयाँ ९० पैसामा ११ करोड ८८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले घटेको छ ।






