११ भदौ, काठमाडौं । बिहीबार शेयरबजार परिसूचक नेप्से १.०४ अंकले घटेको छ । बुधबारको तुलनामा ०.०४ प्रतिशतको गिरावटपछि समग्र नेप्से परिसूचक २ हजार ५५७ दशमलब ३१ विन्दुमा ओर्लिएको छ । समग्र नेप्से घटे पनि कारोबारमा आएका १४६ कम्पनीको शेयर मूल्य बढेको छ ।
११८ कम्पनीको मूल्य घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५२ हजार ५ सय ७५ पटकको शेयर किनबेचमा ३ अर्ब ७८ करोड ६४ लाख रूपैयाँको शेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर किनबेच भए ।
निर्जीवन बिमा २०३.४२, जीवन बिमा २८.२० र जलविद्युत् १९.७८ अंकले घट्यो । यसैबेला उत्पादन तथा प्रशोधन १७९.१४ र होटल तथा पर्यटन २९.६३ अंकले बढ्यो । सर्वोत्तम पेन्टस् इन्डस्ट्रिजको १५ प्रतिशतले सेयर मूल्य बढेपछि सर्किट ब्रेक लाग्यो ।
घोराही सिमेन्ट इन्डस्ट्रिजको ८.१९, सोनापुर मिनरल्स एन्ड आयलको ५.०५, भगवती हाइड्रोपावरको ४.७२, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४.५३ प्रतिशतले मूल्य बढ्यो । माथिल्लो हेवाखोलाको ९.४५, त्रिशुली जलविद्युत् कम्पनीको ९.२३, इर्मजीङ नेपालको ८.३८, रसुवागढी हाइड्रोपावरको ८. ३८ र माथिल्लो मैलुङ खोलाको ८ प्रतिशतले सेयर मूल्य घट्यो ।
बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन , इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, लघुवित्त, व्यापार उपसमूह बढ्यो भने जलविद्युत्, जीवन बिमा, सामूहिक लगानी कोष, निर्जीवन बिमा, अन्य उपसमूह घटे ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ६५० रूपैयाँमा २१ करोड ७५ लाख रूपैयाँको कारोबार भएको छ । दोस्रो सूचीमा नेपाल एसबिआई बैंक रहेको छ । उक्त कम्पनीको ४०० रूपैयाँमा १६ करोड ६६ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकीको बढेको छ । यसमध्ये म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ३.१२ प्रतिशतले घटेको छ ।
आज बैंकिङ ०.१४, विकास बैंक ०.४४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.४१, लगानी ०.१५, उत्पादन तथा प्रशोधन १.७५, माइक्रोफाइनान्स ०.१२ प्रतिशत बढे । सिमेन्ट कम्पनीहरुको मूल्यमा आएको वृद्धिका कारण आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै बढ्यो ।






