१४ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएको छ । यसले मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।
ट्राफिकका अनुसार सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी सुचारु गर्न केही समय लाग्न सक्नेछ । आइतबार बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढेको र विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार कृष्णभीरमा सडकको जग खस्किएर भासिएको छ । अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न रोकिएको छ । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् । हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।






