१४ भदौ, काठमाडौं । चीन सरकारले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्री आइतबार बिहान काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमानबाट राहत सामग्री आएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित आएका छन् ।
दूतावासका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको छ । चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती दुई विमान करिब ३ घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन् ।
विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री रहेको बताइएको छ ।
सामग्रीहरूमा त्रिपाल, ब्ल्यांकेट, स्लिपिङ ब्याग, ड्राइफुड/बिस्कुट र प्राथमिक उपचार किट रहेका छन् ।






