१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन मालपोत अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हदबन्दीमा परेको रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायतको ९ (ख) ७, २९, ३२, ६७, ६८, ९२ र ९४ कित्ताका छुट जग्गा व्यक्तिविशेषको नाममा दर्ता गराएको आरोपमा अख्तियारको छ ।
बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै अख्तियारले तत्कालीन मालपोत अधिकृत कुमार आचार्य, नासुहरू लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्रलाई प्रतिवादी बनाएको छ ।
उच्च अदालत तुलसीपुर (बुटवल इजलास) ले ‘कानुनबमोजिम जो–जे बुझ्नुपर्ने बुझी निर्णय गर्नू’ भनी दिएको परमादेशको समेत गलत अर्थ लगाई भूमिसुधार र स्थानीय तहलाई बेवास्ता गरी उक्त जग्गा व्यक्तिका नाममा गराइएको अख्तियारको ठहर छ ।
भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा पहिले स्थानीय सुर्जा मिश्राइनले हदबन्दीमा परेको कारण कालीजी मन्दिरलाई दान गरेका थिए।
प्रतिवादीहरूले उक्त जग्गा पर्वतराजकान्त मिश्रका नाममा दर्ता गराउने र त्यसपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा नागरिक उड्डयन प्राधिकरणका नाममा नामासारी गरी मुआब्जा रकम लिनेदिने गरी रुपन्देही जिल्ला अदालतमा दूषित मिलापत्र गरेका थिए ।






