१९ भदौ, काठमाडौं । भोटेबहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघले बाढीबाट प्रभावित नुवाकोटका परिवारलाई राहत सामग्री वितरण गरेको छ।
मिति २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै संघले प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत संकलन गरेको हो।
संघमा आबद्ध सदस्यहरूबाट स्वैच्छिक रूपमा संकलन गरिएको सहयोग रकम तथा लत्ताकपडाबाट राहत सामग्री तयार गरी संघका अध्यक्ष विष्णुप्रसाद गौतमको नेतृत्वमा नुवाकोटको विदुर नगरपालिका–३, देवीघाटस्थित बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरिएको संघले जनाएको छ।
स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा संघका सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। संघले देवीघाट क्षेत्रका ५० परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ।
राहतमा पाँच सदस्यीय परिवारलाई खाना पकाउन पर्याप्त हुने गरी प्रेसर कुकर, कराही, थाल, गिलास, कचौरा, स्टिलको बाँटा, डाडु–पन्युँ लगायतका भान्सामा आवश्यक सामग्रीका साथै लत्ताकपडा, सेनेटरी प्याड, सेनिटाइजर लगायतका सामग्री वितरण गरिएको थियो।
संघले राहत संकलनका क्रममा आफूहरूमाथि विश्वास गर्दै अपेक्षा गरेभन्दा बढी सहयोग उपलब्ध गराउने सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ। संकलित सहयोगलाई सम्बन्धित बाढीपीडित परिवारसम्म जिम्मेवार ढंगले पुर्याइएको संघले जनाएको छ।
संघले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै राहत अभियानमा साथ दिने सम्पूर्ण सदस्य तथा सहयोगीप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेको छ।







