२४ भदौ, काठमाडौं । बुधबार शेयरबजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा रोककिएको छ ।
सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ८३ करोड मूल्य बराबरको कारोबार भएको थियो । नेप्से घटेपनि कारोबार रकम भने सोमबारको तुलनामाबढेको छ ।
आज ३५२ वटा स्क्रिप्सको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये ७४ वटा स्टक्सको मूल्य बढ्दा १९२ वटाको घट्यो । ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।
विकास बैंक समूह सबैभन्दा धेरै २.३७ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.१६, फाइनान्स १.०८, होटल तथा पर्यटन १.३८, जलविद्युत् ०.४९, लगानी ०.८२, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा १.५७, अन्य ०.५२ र व्यापार समूह १.५६ प्रतिशत घटे ।
आज अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै शुभम् पावरको ६.४०, बाराही हाइड्रोपावरको ५.७९, इङवा हाइड्रोपावरको ३.६६ प्रतिशत मूल्य बढ्यो । इमर्जिङ नेपाल, सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घट्यो । सिन्धु र जानकीलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी भएयता मूल्य घटिरहेको छ ।
कालिन्चोक दर्शनको १४.२८, उपकार लघुवित्तको १२.०४, मुक्तिनाथ विकास बैंकको ७.९८, त्रिशूली जलविद्युतको ७.६०, सप्तकोशी विकास बैंकको ७.३३, नेपाल फाइनान्सको ६.४४, मैलुङखोला जलविद्युतको ६.३२ प्रतिशत मूल्य घट्यो ।
आज अपर लोहोरे खोला जलविद्युत कम्पनीको शेयर मात्रै सकारात्मक सर्किट लेभलमा कारोबार भयो । इमर्जिङ नेपाल,सिन्धु विकास बैंक,जानकी फाइनान्स र कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा नकारात्मक सर्किट लाग्यो ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिंङ मिल्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीले ४२ करोड मूल्य बराबरको कारोबार गर्यो । सेन्ट्रल फाइनान्सले १७ करोडको कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १६ करोड, सोलु हाइड्रोपावरले १४ करोड र शिवम् सिमेन्टले १३ करोडको कारोबार गरे ।
आज १३ वटै समूहको उपसूचक नकारात्मक देखिए । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर, इमर्जिङ नेपाल छन् ।






