२९ भदौ, काठमाडौं । सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेको छ । योसँगै नेप्से दुई हजार पाँच सय ८५.०४ बिन्दुमा पुगेको छ । नेप्से ०.९९ प्रतिशतले वृद्धि हुँदा क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन चार अर्ब ३६ करोड रुपैयाँबराबरको शेयर खरिद बिक्री भएकोमा आज बढेर चार अर्ब ६८ करोडमा पुगेको छ । आज ३३६ कम्पनीको एक करोड १५ लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री भए ।
कारोबारमा आएकामध्ये २२६ वटाको कम्पनीको शेयर मूल्य बढेको छ । ४७ वटको घटेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ६.४३ प्रतिशतले बढेर ९२५ रूपैयाँमा कारोबार भएको छ ।
उपकार लघुवित्तको सबैभन्दा धेरै ८.२३ प्रतिशतले मूल्य घटेर २५३६ रूपैयाँमा कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेड र लिबर्टी इनजीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।
एनआरएनको २४ करोड ९० लाख रूपैयाँ र लिबर्टीको २३ करोड ८४ लाख रूपैयाँको कारोबार भएको हो । नेप्सेका १३ समूहमध्ये म्युचल फण्ड ०.३१ प्रतिशतले गिरावट हुँदा बाँकी समूह उकालो लागेका छन् । वित्त, जलविद्युत, जीवन बीमा , निर्जीवन बीमा , व्यापार र अन्य समूह एक प्रतिशतभन्दा धेरैले बढोत्तरी हुँदा बाँकी सबै समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ ।






