१ कात्तिक, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा टोली खटिएका हुन् ।
संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण तथा मृतक र बेपत्ता व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ । घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।






