२७ कात्तिक, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो ।
चितवनको यो जितले प्लेअफको सम्भावना बलियो बनाएको छ । एक खेल खेल्न बाँकी चितवनको ७ अंक पुगेको छ । चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ । जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो । कर्णालीको पनि अन्तिम खेल बाँकी रहँदा चार अंक मात्रै रहेकाले एक खेल अगावै बाहिरियो ।
सुदूरपश्चिम र लुम्बिनी प्लेअफमा सुरक्षित रहँदा अब काठमाडौं, चितवन र विराटनगरमध्ये २ टोली अन्तिम ४ मा पुग्नेछन् ।
आज जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डेविड मलानले ३५, कुशल मल्लले १५ रन बनाए ।
जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ विकेट झारे ।
यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा ८८ रन बनायो । जसमा कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए ।
चितवनका रञ्जित कुमारले ३, सिकन्दर राजा र कमिल मिसराले २/२ विकेट लिए ।






