३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई-मधेसमा छठ पर्वपछि पार्टीका सांसदहरूले जनताको आक्रोश सामना गर्नुपर्ने दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले बोलाएको मन्त्री तथा सांसदहरूको सामूहिक छलफलमा सांसद सिंहले यस्तो धारणा राखेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापालाई सर्लाही–४ बाट पराजित गर्दै चर्चामा आएका सिंहले सरकारका कमजोरीबारे आफूले निरन्तर प्रश्न उठाउँदै आएको बताएका थिए । बैठकमा उनले आफूलाई एक साताको समय दिए सरकारका सयवटा गल्ती सार्वजनिक गरिदिने दाबीसमेत गरेका थिए।
‘मलाई एक हप्ता दिनुहोस्, म सरकारका एक सय गल्ती निकालिदिन्छु,’ सिंहले बैठकमा भनेको स्रोतले जनाएको छ । त्यस क्रममा उनले मधेसमा छठ पर्वपछि रास्वपाका सांसदहरूले जनताको आक्रोशका कारण पिटाइ खानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको बताइएको छ ।
तराई-मधेस क्षेत्रमा तिहारपछि विशेष महत्वका साथ मनाइने छठ पर्वमा श्रद्धालुहरूले सूर्यको उपासना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्ने गर्छन् ।
पछिल्लो समय सांसद सिंह रास्वपा नेतृत्व तथा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले पार्टीभित्र तथा सार्वजनिक रूपमा सरकार र पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका कारण उनका अभिव्यक्तिहरू विवादमा समेत पर्ने गरेका छन् ।








