२७ भदौ, काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) ले औंल्याएका सम्पूर्ण अतिक्रमित जग्गा नेपाल सरकारकै नाममा कायम गर्ने निर्णय भएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वि.सं. २०५२ को प्रतिवेदन कार्यान्वयन गर्न गठित विशेष समितिको सिफारिसका आधारमा ३१ वर्षपछि यो निर्णय गरेको हो।
यस निर्णयअनुसार व्यक्ति वा संस्थाका कित्ताहरूमा घुसाइएका सार्वजनिक जग्गाहरूको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी पुनः राज्यको स्वामित्वमा ल्याइनेछ। लामो समयदेखि थन्किएर बसेको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढेसँगै वर्षौंदेखि हिनामिना भएका बहुमूल्य सरकारी जग्गाहरू फिर्ता हुने बाटो खुलेको छ।








