१८ भदौ, बारा । गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिर अगाडीको चौतारोमा उनी बुधवार अचेत अवस्थामा भेटिएका थिए । तनहुँको भानु नगरपालिका–१ भन्सार घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागी नारायणी अस्पताल वीरगन्ज पु-याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
“अचेत अवस्थामै उहाँलाई अस्पताल पु-याएका थियौँ,” प्रवक्ता मल्लले भने, “चिकित्सकले उपाध्यायको निधन भइसकेको जानकारी गराए ।” उपाध्यायको शव नारायणी अस्पतालमै राखिएको र उनको परिवारका सदस्यहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रवक्ता मल्लले जानकारी दिए ।






