FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरुले नेताको अनुहार मात्र परिवर्तन गरेर सुधार नआउने बताएका छन् । राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोविज्ञानअनुसार आफ्नो आन्दोलन र संगठनलाई नयाँ रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै राष्ट्रियताका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढिरहेको भन्दै विपत्तिको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए ।

भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले जलवायु न्यायको प्रश्न नेपालको साझा प्रश्न भएको बताए ।

पोखरेलले लोकतन्त्रको भविष्यमाथि समेत चिन्ता उत्पन्न भएको बताए । निर्वाचित जनप्रतिनिधि, संसद् र नागरिकसँग सरकारले संवाद गर्न नसकेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखे ।

उनले भने, जसरी हिजो नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौँ, पञ्चायतलाई परास्त गरेका छौँ, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौँ, त्यसैगरी लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ ।

पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्नसक्ने अवस्था रहेकाले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । नेपालका छिमेकी मुलुकलाई समेत आश्वस्त पार्नेगरी राष्ट्रिय हितमा साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरेपनि ती क्षेत्रमा अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए । रोजगारीका लागि ठूलो संख्यामा युवा विदेश जान बाध्य रहेको भन्दै नयाँ पुस्ताका सपना र अपेक्षालाई निराशामा बदल्न नहुने धारणा राखे ।

पोखरेलले सूचना प्रविधिको क्रान्तिले समाजको मनोविज्ञानमा ल्याएको परिवर्तनलाई राजनीतिक दलहरूले आत्मसात् गर्नुपर्ने बताए। कांग्रेसको १५औँ महाधिवेशनले नयाँ पुस्ताका अपेक्षा र भावनालाई सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

उनले अनुहार परिवर्तन मात्रै पर्याप्त नहुने भन्दै राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोविज्ञानअनुसार आफ्नो आन्दोलन र संगठनलाई नयाँ रूपमा अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय