३ कात्तिक, काठमाडौं । नवरात्रको अन्तिम दिन आज देशभर नवदुर्गा भगवतीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा दशैंघर, कोत तथा विभिन्न देवी मन्दिर र शक्तिपीठमा विशेष पूजाआराधना गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा देवी मन्दिर तथा शक्तिपीठमा चढाउने परम्परा छ ।
यस दिन दुर्गा सप्तशती ‘चण्डी’, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ । कतिपय स्थानमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिने चलन छ । पशुबलि नदिने तथा शाकाहारीले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवल बलि दिएर पूजा गर्ने गर्छन् ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
महानवमीका अवसरमा आज नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । यस अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।






