३ कात्तिक, काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबगानमा दुर्गा पूजा पण्डालमा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
मुख्यमन्त्री शुभेन्दु अधिकारीका अनुसार शनिबार साँझ करिब ७स्३० बजे भएको घटनामा घाइतेमध्ये २४ जनाको अवस्था खतरामुक्त छ भने एक जनाको अवस्था गम्भीर छ ।
अत्यधिक भीड, साँघुरो बाटो र भारी वर्षाका कारण भागदौड भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा अधिकांश महिला तथा बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
पश्चिम बंगाल सरकारले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति र परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । घाइतेको उपचार खर्च बेहोर्नुका साथै जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि सरकारले जनाएको छ ।
घटनाको छानबिन कोलकाता उच्च अदालतका न्यायाधीशबाट गरिने भएको छ । प्रहरीले सीसीटीभी फुटेज जाँच गरिरहेको छ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र कांग्रेस नेता राहुल गान्धीलगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।






