२९ कातिक, काठमाडौं । चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् ।
यो प्रयोग चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड एटम फिजिक्स -याकमा गरिएको हो । चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) र बेइजिङ विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त टोलीले उक्त प्रयोग गरेको हो ।
वैज्ञानिकहरूका अनुसार पृथ्वीमा गुरुत्वाकर्षणका कारण परमाणुलाई अत्यन्त न्यून तापक्रममा पु-याउन कठिन हुन्छ । तर अन्तरिक्षमा गुरुत्वाकर्षणको प्रभाव न्यून हुने भएकाले परमाणुहरू स्वतन्त्र रूपमा तैरिन सक्छन् । यसले परमाणुलाई अझ कम तापक्रममा चिस्याउन सम्भव बनाउँछ ।
वैज्ञानिकहरूले रुबिडियम परमाणुको तापक्रम सामान्य कोठाको तापक्रम (करिब ३०० केल्भिन) भन्दा १४ अर्डर अफ म्याग्निच्युड कम हुने स्तरमा झारेका हुन् । केल्भिन तापक्रम मापन गर्ने एकाइ हो भने पिकोकेल्भिन एक केल्भिनको एक खर्ब भागको एक भाग बराबर हुन्छ ।
यसअघि सबैभन्दा कम तापक्रम हासिल गर्ने कीर्तिमान सन् २०२१ मा जर्मन वैज्ञानिकहरूको टोलीले बनाएको थियो । उक्त टोलीले ३८ पिकोकेल्भिन तापक्रम हासिल गरेको थियो । चीनले अहिले त्यसलाई समेत पछि पार्दै ९.७ पिकोकेल्भिनको नयाँ कीर्तिमान बनाएको हो ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत सांघाई इन्स्टिच्युट अफ अप्टिक्स एन्ड फाइन मेकानिक्सका पार्टी सचिव चेन वेइबियाओले अति चिसो परमाणुलाई पिकोकेल्भिन तहसम्म पु¥याउने सम्पूर्ण प्रविधिमा चीनले दक्षता हासिल गरेको बताएका छन् ।
उनका अनुसार परमाणुलाई गहिरो रूपमा चिस्याउने प्रविधिको सम्पूर्ण प्रक्रिया नियन्त्रण गर्न सक्ने क्षमता विकास हुनु चीनको वैज्ञानिक तथा इन्जिनियरिङ उपलब्धिको प्रमाण हो । यसले परमाणु शीतलीकरण प्रविधिमा चीन विश्वकै उन्नत स्तरमा पुगेको पनि उनले बताएका छन् । चिनियाँ वैज्ञानिकहरूको उक्त अनुसन्धान नोभेम्बरमा अन्तर्राष्ट्रिय समकक्षी समीक्षा हुने वैज्ञानिक जर्नल ‘साइन्स’ मा प्रकाशित भएको छ ।








