२८ कातिक, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो ।
जसमा चरिथ असलङ्काले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए। यस्तै शुभम रञ्जनेले ३१ ,इमरान शेखले २४ रन हिर्काए । लुम्बिनीका किशोर महतोले २,रूबेल ट्रम्पलमेन र अभिषेश गौतमले १/१ विकेट लिए । दुबै टोलीको यो लिग चरणको अन्तिम खेल हो ।
प्लेअफ स्थान सुरक्षित गरेको लुम्बिनीमाथि त्यति दबाब छैन । जितले लुम्बिनी ११ अंकका साथ शीर्ष स्थानमा पुग्नेछ । विराटनगरसँगको हारले लुम्बिनी नौ अंकसहित दोस्रो स्थानमै रहनेछ । विराटनगर भने अंकतालिकामा लुम्बिनीभन्दा कमजोर स्थितिमा छ । उसको ६ अंक छ । विराटनगरले प्लेअफ स्थानको आशा जीवितै बनाउन लुम्बिनीलाई हराउनुपर्ने दबाब छ । अन्यथा विराटनगर बाहिरिने छ ।








